काठमाडौं । काठमाडौं । नेपालले यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा सम्पन्न युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ।
नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त टिमलाई पराजित गरेको हो। त्यसमाथि पनि दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजमाथि जित नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनको योगफल खडा गर्यो। लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो।
अन्तिम ओभरमा वेस्ट इन्डिजलाई २८ रन आवश्यक थियो। बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले दबाबमा उत्कृष्ट स्पेल प्रस्तुत गरे। पहिलो बल डट गराएपछि उनले दोस्रो र तेस्रो बलमा चौका खेले। तर, त्यसपछि लगातार दुई बल डट गराउँदै अन्तिम बलमा कुशल भुर्तेलले सीमा रेखामा उत्कृष्ट क्याच लिँदै खेल नेपालतर्फ मोडे।
वेस्ट इन्डिजका लागि डेब्युटेन्ट नवीन विदेशीले सर्वाधिक २२ रन बनाए। उनले २५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै हिट विकेट भए। कप्तान अकेल होसेनले ८ बलमा १८ रन (१ चौका, २ छक्का) बनाए भने अमिर जाङ्गोले १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन योगदान दिए।
नेपालका बलरहरू उत्कृष्ट रहे। कुशल भुर्तेलले २ विकेट हात पारे भने नन्दन यादव, रोहित पौडेल, करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान १-१ विकेट लिए। सन्दीप लामिछाने इन्जुरीका कारण पूरा स्पेल गर्न सकेनन्। उनले ४.५ ओभर बलिङ गर्दै अगष्टेको विकेट लिएपछि मैदान छाड्नुपरेको थियो।
यसअघि ब्याटिङमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन जोडे। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन, दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्दा सोमपाल कामी (६) र नन्दन यादव (७) अविजित रहे।
वेस्ट इन्डिजका बलरमध्ये जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। नवीन विदेशीले ३ विकेट हात पार्दा कप्तान होसेनले १ विकेट लिए।