काठमाडौं । दसैं बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन्। दशैंको समयमा पेट्रोलियम पदार्थको माग सहज बनाउन निगमले प्रादेशिक तथा शाखा कार्यालय अन्तर्गतका डिपोहरूलाई तालिका अनुसार सञ्चालन गर्ने भएको हो।
यो वर्ष दशैं बिदा ६ दिन रहनेछ। निगमका १३ शाखा तथा डिपोमध्ये वीरगञ्ज शाखा र दाङ डिपो चार–चार दिन खुल्नेछन्। त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालय तीन–तीन दिन सञ्चालन हुनेछन् भने बाँकी कार्यालय दुई दिन मात्र खुल्ने गरी तालिका बनाइएको छ। दीपायल शाखा भने आवश्यकता अनुसार खोलिने निगमले जनाएको छ।
निगमले सम्बन्धित कार्यालय बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताका लागि प्रत्येक डिपोमा सम्पर्क व्यक्ति तोकेको छ। ती व्यक्तिसँग सम्पर्क गरी तोकिएको समयमा पेट्रोलियम पदार्थ प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको निगमको भनाइ छ।