काठमाडौं । दशैं बिदा अघि आइतबार भएको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.५१ अंकले वृद्धि भई २६६३.५१ विन्दुमा रोकिएको हो। आइतबार बजार ०.४३ प्रतिशतले बढेपनि कारोबार रकम करिब २ अर्ब ९३ करोड रुपैयाँमै सीमित भएको छ।
नेप्सेका अनुसार ३१४ कम्पनीको ७५ लाख ११ हजार कित्ता सेयर ३९ हजार ८५९ कारोबारमार्फत खरिद–बिक्री भएको थियो। यस दिन ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशतले बढेको छ।
समूहगत परिसूचकमा होटल र पर्यटन, व्यापार र अन्य समूहमा गिरावट आएको छ भने बाँकी सबै समूहमा हरियाली देखिएको छ। सबैभन्दा धेरै ०.९६ प्रतिशत म्युचुअल फन्ड समूह बढेको छ। बैंकिङ ०.८४, विकास बैंक ०.४९, वित्त ०.१०, जलविद्युत् ०.७०, लगानी ०.१४, जीवन बीमा ०.८०, उत्पादनमूलक ०.५१, लघुवित्त ०.५९ र निर्जीवन बीमा ०.३२ प्रतिशतले बढेका छन्। तर व्यापार १.२८, अन्य ०.१४ र होटल समूह ०.१५ प्रतिशतले घटेका छन्।