लमजुङ । नेपालमा सुरु भएको ‘जेन–जी’ विद्रोहले ल्याएको नयाँ राजनीतिक चेतनाको लहर देशभर फैलिरहेको छ । यही क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–२, पाउँदिमा ‘लमजुङ शक्ति नेपाल’ अभियानको औपचारिक सुरुवात गरिएको छ ।
अभियानको उद्घाटन कुनै राजनीतिक दलको झण्डा गाडेर नभइ नेपाली राष्ट्रिय झण्डा फहराएर र सेवाको प्रतीकका रूपमा पानी वितरण गरेर गरिएको थियो । यसले जिल्लाको राजनीतिक परिवेशमा नयाँपन ल्याउने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् ।
कार्यक्रम संयोजक स्वतन्त्र युवा राजन परियारले भने, ‘राष्ट्रको झण्डा गाडेर हामीले स्पष्ट सन्देश दिएका छौं । अब कुनै पार्टी विशेषको झण्डाकोपछि लाग्ने परम्परा समाप्त भएको छ । यो समय दलगत राजनीतिभन्दा माथि उठेर देशको हितमा एकजुट हुने समय हो ।’
कार्यक्रममा सहभागी युवाहरूले शान्तिपूर्ण रूपमा सबैलाई पानी वितरण गर्दै अभियानको थालनी गरे । उनीहरूले यस कार्यलाई औपचारिकता मात्र नभई सेवा, सम्मान र सद्भावनाको प्रतीकका रूपमा व्याख्या गरेका छन् । सहभागीहरूले ‘लमजुङ शक्ति नेपाल’ लाई केवल राजनीतिक आन्दोलन नभएर नैतिक पुनर्जागरण र सामाजिक रूपान्तरणको अभियानको रूपमा प्रस्तुत गरेका छन् ।
यस अभियानलाई लमजुङका मात्र नभई विदेशमा रहेका युवाहरूको पनि साथ र सहयोग प्राप्त भइरहेको छ । अनसुल लोहनी, दिपु थापा लगायतका युवाहरूले विदेशबाटै अभियानलाई मार्गदर्शन र सहयोग पु¥याउँदै विचार राखेका छने ।
उनीहरूको सन्देशमा भनिएको छ,‘हामी जहाँ भए पनि, लमजुङको विकास र राष्ट्रको उन्नतिको साझा लक्ष्यका लागि हामी एकजुट छौं ।’
कार्यक्रममा उपस्थित युवाहरूले अबदेखि चेतनासहितको ‘विकासको राजनीति’ अघि बढाउने घोषणा गरेका थिए । उनीहरुले भने, ‘राजनीति अब व्यक्तिको प्रभाव वा विरासतमा होइन, विचार र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुनुपर्छ । योग्य उम्मेदवारलाई स्वतन्त्र र विवेकपूर्ण रूपमा समर्थन गरिनेछ।’
स्थानीय नागरिक र प्रहरी अधिकारीहरूले पनि युवाहरूको यो शान्तिपूर्ण अभियानलाई स्वागत गरेका छन् । कार्यक्रममा युवाहरूले भने,‘अब हाम्रो हातमा पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा हुनेछ । विकासका लागि खोक्रो नारा होइन, निस्वार्थ सेवा र निष्ठापूर्ण कार्य चाहिन्छ।’
युवाहरूले आगामी दिनमा यस अभियानलाई लमजुङ जिल्लाका ८ वटा पालिका र ७५ वटै वडामा विस्तार गर्ने योजना सार्वजनिक गरेका छन् । उनीहरूको लक्ष्य भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्ध र विकासशील लमजुङ बनाउनु रहेको स्वतन्त्र युवा दिनेश लोहनीले जानकारी दिए ।