काठमाडौं । काठमाडौं । आज हिन्दु नेपालीहरूको महान् चाड बडादसैँ मान्यजनका हातबाट हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । घटस्थापनामा स्थापना गरिएको घडाबाट विधिपूर्वक अभिषेक गरी देवीको प्रसादको रूपमा टीका र जमरा थापेर मनाइने गरिन्छ ।
यस वर्षको दसैँको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट जाँदा रहेको छ । तर यो साइत राज्य सञ्चालन गर्नेहरूका लागि मात्रै आवश्यक भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । अन्य व्यक्तिहरूका लागि टीकाको साइत कुर्नु नपर्नेसमेत नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
‘दसैँको टीका बिहानैदेखि सुरु हुने र अपराह्नसम्म पुरै साइत रहेको पञ्चांक समितिले जनाएको छ । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि सर्वसाधारणलाई दसैँका दिन टीका थाप्न साइत कुर्नु नपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताएका छन् ।
दसैँको दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा बिसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ । यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ । देवी विसर्जन गरेपछि थप कुनै साइत कुर्नु आवश्यक नरहेको समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार दसैँको टीका लगाउनुअघि देवी विसर्जन गर्नु भने आवश्यक छ । दसैँका दिन नित्य पूजा र आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गर्ने गरिन्छ । दुर्गा विसर्जन पश्चात् कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतिको कामना गर्ने गरिन्छ ।
दुर्गा विसर्जन गरेको कलशको जल अत्यन्त पवित्र जल मान्ने गरिन्छ । उक्त जल समेत घरका विभिन्न स्थानमा छर्किएर सोही जलसमेत लिई इष्टदेवता, कुल देवतालाई सम्झेर जमरा काटिन्छ । त्यसपछि सुरुमा कुल देवता र पितृ देवतालाई टीका–जमरा चढाउने गरिन्छ । कतिपय स्थानमा घरको मूल ढोका अर्थात् दैलामाथि टीका लगाइदिने र चारै दिशामा टीका–जमरा चढाउने परम्परा समेत छ । यति काम सम्पन्न भएपछि मात्र मान्यजनबाट टीका लगाउने गरिन्छ ।
टीका लगाउँदा घरपरिवारमा गुरु पुरोहित स्थापना गरेको भए गुरु पुरोहितबाट, नभए घरका सबैभन्दा ज्येष्ठ मान्यजनको हातबाट टीका जमरा लगाउने गरिन्छ । त्यसपछि मात्र अन्य मान्यजन कहाँबाट टीका लगाउन जाने चलन छ ।
यस वर्षको टीका ग्रहण गर्दा टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ र लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर लगाउनुपर्ने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।