गोरखा । दशैं सकिएपछि कार्यक्षेत्र फर्किने यात्रुहरूबाट सार्वजनिक यातायात व्यवसायीले दोब्बरसम्म भाडा असुलेको गुनासो बढेपछि गोरखामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामुराज कडरिया र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत बिकको टोलीले मंगलबार बिहान विभिन्न स्थानमा अनुगमन गरेका छन्।
अनुगमन टोलीले बसपार्क, हरमटारीचोक, घ्याम्पेशाल बसपार्क र बारकिलो बजार क्षेत्रमा पुगेर सार्वजनिक सवारी व्यवस्थापनको अवस्था निरीक्षण गरेको हो।
एसपी भरत बिकले अनुगमनका क्रममा केही यात्रुबाट बढी भाडा असुलिएको पाइएको र सो भाडा फिर्ता गराइएको जानकारी दिए। “कतिपय यात्रुहरूले बढी भाडा तिर्नुपरेको बताएका थिए, हामीले त्यहीअनुसार आवश्यक कदम चाल्यौं,” उनले भने।
प्रजिअ कडरियाले चाडबाडको मौका पारेर यात्रु ठग्ने प्रवृत्ति रोक्न स्थानीय प्रशासन गम्भीर रहेको बताए। “यदि पुनः यस्तो अवस्था देखियो भने कडा कानुनी कारबाही हुन्छ,” उनले चेतावनी दिए।
स्थान–स्थानमा यात्रुलाई जानकारी दिइएको, भाडा सूची झुण्ड्याइएको र जनगुनासो तत्काल सम्बोधन गर्न ट्राफिक र प्रहरीलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।