काठमाडौं । सरकारले हालैको बाढी तथा पहिरोबाट घरबार गुमाएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले यस्तो जानकारी दिएको हो ।
बैठकले बाढीपहिरो प्रभावितहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । घर भत्किएका पीडितहरूलाई अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो ।
अस्थायी आवास निर्माणका लागि विपद् प्राधिकरणमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । सोमध्ये २५ हजार रुपैयाँ तत्काल प्रदान गरिनेछ भने बाँकी २५ हजार रुपैयाँ मापदण्डअनुसार एक तहको घरको संरचना बनेपछि उपलब्ध गराइने भएको छ ।
त्यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रहरूमा महामारी फैलिन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । महामारी फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई समन्वय गरेर कार्य अघि बढाउन निर्देशन दिइएको छ । यसअन्तर्गत जनचेतना फैलाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने लगायतका कार्य संयुक्त रूपमा सञ्चालन गरिनेछ ।