काठमाडौं । गएको असोज १८, १९ र २० गतेका साथै त्यसअगाडिको बाढीपहिरोले क्षति पुर्याएका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँको अनुमान प्रस्तुत गरेको छ। यसअघि गएको वर्षको विपद्बाट क्षति पुगेका संरचनाको एक अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार, बाढीपहिरोबाट अवरुद्ध सडकको सञ्चालन उच्च प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका छन्।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा धेरै क्षति मेची राजमार्गमा भएको छ, जसको पुनर्निर्माणमा डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणगढ–मुग्लिन लगायतका राजमार्गको पुनर्निर्माणमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ, नयाँ बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ, र वैकल्पिक सडक पुनर्निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।