काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिदका क्रममा करिब १२ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सो प्रकरणमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएको छ। आयोगले डा. भण्डारीलाई प्रमुख प्रतिवादीको रूपमा मुद्दामा समावेश गरेको हो।
डा. भण्डारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारीकी बहिनी हुन्। उनी हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकको रूपमा कार्यरत छिन्।
अख्तियारका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर प्रालिसँग करिब १२ करोड रुपैयाँमा एमआरआई मेसिन खरिद गर्दा मिलेमतोमा अत्यधिक मूल्य निर्धारण गरी अनियमितता गरिएको पाइएको छ।
आयोगले सो कार्य सार्वजनिक पदको दुरुपयोगमार्फत गरिएको भ्रष्टाचारको स्पष्ट प्रमाण रहेको ठहर गर्दै डा. भण्डारीसहित अन्य संलग्न १२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।