काठमाडौं । साताको पहिलो शेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताहरूमा पुनः निराशा छाएको छ।
आइतबार नेप्से परिसूचक ७८ दशमलव ८३ अंकले घटेर २ हजार ५०३ दशमलव ३५ विन्दुमा अडिएको छ। दिनभरको कारोबारमा कुल ३२४ स्क्रिप्सको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।
आज कुनै पनि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। बजारमा उच्च कारोबार भएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यसपछि एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड रुपैयाँ, युनियन हाइड्रोपावर कम्पनीको ३६ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २३ करोड रुपैयाँ र सीईडीबी होल्डिङ्स कम्पनीको २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कारोबारमा सामेल भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २४२ वटा कम्पनीको घटेको छ। आजको बजारमा सबै समूहका सूचकहरूमा गिरावट देखिएको छ। विशेषगरी होटल र अन्य समूहको उपसूचक ४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।