काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ।
इजरायली सेना (आईडीएफ) का एक अधिकारीले आज बिहान इजरायलको स्थानीय समय अनुसार साढे ७ बजे विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्। उक्त जानकारी इजरायली अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा जोशी, नेपालमा रहेका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत दिएका हुन्।
‘हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,’ राजदूत पण्डितले नेपाल लाइभसँग भने, ‘त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी र नेपालमा रहेका आफन्तहरूलाई पनि भिडियो कन्फरेन्समार्फत जानकारी गराइयो।’
राजदूत पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। ‘घटनाका सबै पक्ष आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं,’ उनले भने।
शव फिर्ता गर्ने विषयमा भने अझै स्पष्टता आएको छैन।
विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका बेला उनी किबुत्ज आलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए।