एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गरिने भएको छ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरेको विज्ञप्तिमार्फत ट्रम्पलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्। राष्ट्रपति हर्जोगका अनुसार ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइमा महत्वपूर्ण भूमिका खेलेका र युद्ध अन्त्यका प्रयासमा उल्लेखनीय योगदान पुर्याएका कारण यो पुरस्कार प्रदान गर्न लागिएको हो।
राष्ट्रपति हर्जोगले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ।’
उनका अनुसार यो पुरस्कार आगामी महिनाहरूमा औपचारिक रूपमा प्रदान गरिनेछ। ट्रम्पलाई यसबारे जानकारी इजरायल भ्रमणका क्रममा नै गराइएको बताइएको छ।
हालै इजरायल पुगेका राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेका थिए। त्यहाँ उनले बन्धक परिवारका सदस्यहरूसँग भेटघाट गर्ने र इजरायली संसद् (नेसेट) लाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
सोमबार इजरायल र हमासबीच ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनाको पहिलो चरण अन्तर्गत बन्धक–कैदी आदानप्रदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको इजरायली अधिकारीहरूले जनाएका छन्।
ट्रम्पको २० बुँदे शान्ति योजनाले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको र दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धको अन्त्य गर्ने लक्ष्य लिएको बताइएको छ। सोही दिन प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो, जसपछि दुवै पक्षबीच भीषण द्वन्द्व सुरु भएको हो।
राष्ट्रपति हर्जोगका अनुसार, ‘यो सम्मान ती व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पुर्याएका हुन्छन्।’
यसअघि सन् २०१३ मा इजरायलले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो।

