काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयका लेखा शाखामा भएका सम्भावित क्षति सम्बन्धी विवरण तीन दिनभित्र पठाउन परिपत्र गरेको छ।
मन्त्रालयले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त पत्रका आधारमा राष्ट्रिय किताबखाना, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, आदिवासी जनजाति उत्थान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई–मधेश समृद्धि कार्यक्रम तथा देशभरका जिल्ला समन्वय समिति कार्यालयहरूलाई सो विवरण पठाउन निर्देशन दिएको हो।
महालेखापरीक्षकको कार्यालयले असोज २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा क्षति पुगेको सूचनालाई दृष्टिगत गर्दै लेखा शाखामा रहेका लेखापुस्तक, दस्तावेज, अभिलेख र स्रेस्ता क्षति भए वा नभएको अवस्थाबारे जानकारी मागेको थियो।
मन्त्रालयको परिपत्रमा भनिएको छ, “आन्दोलनका क्रममा लेखा शाखाका स्रेस्ता क्षति भए वा नभएको विवरण तोकिएको ढाँचामा तयार गरी तीन दिनभित्र मन्त्रालयको इमेल ठेगानामा पठाउनुपर्नेछ।”
लेखा अधिकृत सुमन मरासिनीले हस्ताक्षर गरेको पत्रमा तोकिएको समयभित्र विवरण नआएमा निरीक्षण र प्रतिवेदन तयार पार्ने कार्यमा ढिलाइ हुने चेतावनीसमेत दिइएको छ।