काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको यातायात व्यवस्था विभागले छठ पर्वपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
हाल विभागले पुरानो पार्किङ स्थलबाट सीमित रूपमा सेवा सञ्चालन गरिरहेको छ। विभागका अनुसार छठपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरिएको हो।
विभागले आवश्यक मेसिन उपकरणहरूको व्यवस्थापन पूरा गरिसकेको र त्यसपछि सेवा सुचारु गर्न सकिने जनाएको छ। तर, नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने भएको छ। छपाइ कार्ड र प्रिन्टर खरिद गर्नुपर्ने भएकाले नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने विभागले जनाएको छ।
आगजनीका कारण क्षतिग्रस्त भवनको मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र सिप्रदी ट्रेडिङले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
विभागले हाल अत्यावश्यक सेवा मात्र सञ्चालनमा राखेको र बाँकी सबै सेवा छठ पर्वपछि पूर्ण रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।