मुस्ताङ । मुस्ताङमा यो यामको पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्र आज बिहानदेखि हिउँले सेताम्य बनेका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार उपल्लो तथा तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासँगै हिमपात भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रलगायत ठाउँमा हिउँ परिरहेको छ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार बिहानैदेखि हिउँ पर्न थालेपछि मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको छ।
‘मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्न जारी छ, हाल करिब ५–६ इन्च हिउँ जमेको छ,’ सुवेदीले बताए, ‘जमिन तातो भएकाले हिउँ स्थायी रूपमा जम्न सकेको छैन, तर यही गतिमा हिउँ परिरहे दुई फिटसम्म पुग्न सक्छ।’
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार उच्च लेकमा बाक्लो हिउँ परिरहेको छ भने बस्ती नजिक वर्षासँगै आंशिक हिमपात भएको छ।
‘यो वर्ष कात्तिकमै हिउँ परेको छ, जबकि दुई–तीन वर्षयता हिउँ पर्न सकेको थिएन,’ उनले भने, ‘हिउँ पर्नु किसानका लागि निकै सकारात्मक संकेत हो, यसले अन्नबालीको उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउँछ।’
त्यस्तै, वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत उच्च बस्तीहरूमा पनि बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। उनका अनुसार हिउँसँगै चिसो अत्यधिक बढेको छ र स्थानीय जनजीवन प्रभावित बनेको छ।
वडाध्यक्ष गुरुङले भने, ‘कात्तिकमै हिउँ पर्नुले स्याउलगायत अन्नबालीका लागि फाइदा पुगेको छ। हिउँले खेतीयोग्य जमिनको भित्री तह सिञ्चित गर्ने भएकाले यो किसानका लागि बरदान सावित हुन्छ।’
प्रशासनको यात्रा नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ। उक्त सडकखण्डमा बाक्लो हिउँ जमेकाले सडक दुर्घटनाको जोखिम बढेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानमा हिउँ जमेकाले सवारीसाधन नलैजान आग्रह गरिएको हो।
प्रशासनले दर्शनार्थी र पर्यटकहरूलाई सावधानी अपनाउन तथा मौसम सामान्य नभएसम्म यात्रा स्थगित गर्न अनुरोध गरेको छ।

