काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार हाल भारतको विशाखपटनम क्षेत्रमा अवस्थित यो चक्रवात क्रमश: भारतको भू–भाग हुँदै नेपालतर्फ प्रवेश गर्दैछ। समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर आएको यस चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ।
पराजुलीले यस चक्रवातको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने बताए। पूर्वानुमानअनुसार चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३) दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म रहनेछ। यस अवधिमा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना पनि रहेको छ।
उनका अनुसार ठूला नदीहरूको बहाव सामान्य भएपनि चक्रवातका कारण नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्छ। जल तथा मौसम विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।


