काठमाडौं । नेकपा एमाले निकट मजदुरहरुको संगठन (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको निधन भएको छ । बिहीबार भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालयअघि उद्योगहरुमा विद्युत् काटिएकोविरुद्धमा भाषण गर्दागर्दै ढलेका गौतमको निधन भएको हो ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएर वक्यौता नतिरेका उद्योगहरुमा लाइन काटेको छ । त्यसैको विरोधमा उद्योगी र मजदुरहरुले गरेको प्रदर्शनलाई समर्थन गर्दै सम्बोधन गर्न पुगेका नेता गौतम अचानक ढलेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ६५ वर्षीय गौतमको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा आवद्ध उनका दुई छोरा र श्रीमती रहेका छन् ।

