काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय (ओडिआई) शृंखलाको दोस्रो खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको छ।
दुबईमा बिहीबार भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। युएईका लागि ओपनर आर्यन्श शर्माले ९८ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ९८ रन बनाए। अलिसान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रनको योगदान गरे।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा आधारित प्रदर्शन गर्दै ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो। रोहितले १३० बलमा पाँच चौका र दुई छक्कासहित १०९ रन बनाए। यो उनको ओडिआई करियरको दोस्रो शतक हो।
नेपालका अन्य प्रमुख रन योगदानकर्तामध्ये आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए।
युएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। जुनेद सिद्दिकीले ३ विकेट हात पारे भने मुहम्मद रोहिद र हैदर अलीले समान १–१ विकेट लिए।
यो पराजयसँगै नेपालले शृंखलामा लगातार दोस्रो हार ब्यहोरेको छ। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो।

