काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसमविद्ले जानकारी दिएका छन्।
काठमाडौँलगायतका मुलुकका मध्य र पश्चिम (बाग्मती, गण्डकी, लुम्बिनी तथा तराईका सर्लाहीदेखि चितवनसम्मका जिल्लाहरूमा) क्षेत्रमा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने मौसमविद् उज्ज्वल उपाध्यायले जानकारी दिए। कोश पूर्वका जिल्लाहरूमा भोलि बिहानसम्म वर्षा रोकिने र मध्यान्हदेखि मौसम खुल्नेछ।
आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ। यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 

