काठमाडौं । नेपालमा आज (शनिबार) देखि चक्रवात ‘मोन्था’को प्रभाव अन्त्य भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अब नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र रहनेछ ।
बंगालको खाडीमा विकसित मोन्था चक्रवातका कारण बुधबारदेखि देशभर लगातार वर्षा भइरहेको थियो । महाशाखाका अनुसार आजदेखि भने उक्त चक्रवातको प्रत्यक्ष असर सकिएको हो ।
तर पनि पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न भागमा हल्का पानी र हिमपात पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोसी र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । साथै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागमा मध्यम हिमपात र कर्णालीका उच्च पहाडमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिदेखि भने वर्षा र हिमपातको क्रम घट्ने अनुमान गरिएको छ । मौसमविद्हरूका अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा र १०० मिलिमिटरभन्दा माथि धेरै भारी वर्षा मानिन्छ ।
महाशाखाले आगामी तीन दिनको पूर्वानुमानमा पनि वर्षा घट्दै जाने, तर उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने क्रम भने निरन्तर रहने जनाएको छ ।


