काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको निजी निवासमा व्यापक तोडफोड र आगजनी भएको थियो। मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त भवनको मर्मतसम्भार गर्न आवश्यक पहल अघि बढाउने वचन दिएका छन्।
निर्देशन र निरीक्षणका क्रममा मन्त्री अर्यालसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल लगायतको उपस्थिति थियो।
यसैबीच, मन्त्री अर्याल बालाजु प्रहरी वृत्तको निरीक्षणमा पनि पुगे। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको उक्त प्रहरी वृत्तको पुनःनिर्माण स्थानीय समुदायको सहकार्यमा सुरु भइसकेको छ। यद्यपि, प्रहरी प्रमुखले भवनको जग्गा स्वामित्वमा नरहेको विषय गृहमन्त्री अर्याललाई जानकारी दिएका थिए।
गृह मन्त्रालयले सुरक्षा र पूर्वाधार पुनर्निर्माण दुवै विषयमा तीव्र पहल गर्दै आएको जनाएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार, राष्ट्रपति निवासको मर्मतसम्भार र प्रहरी वृत्तको पुनर्निर्माण दुवै तत्कालका प्राथमिकतामा राखिएको छ।

