गोरखा । पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालीयन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको छ। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा भेटिएको छ।
आरोहीहरूको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। विगत बुधबार पाङबारी हिमाल आरोहणका लागि गएका तीन इटालीयन नागरिक र एक नेपाली सहयोगी अलपत्र परेका थिए। फरिनातो र गापुटो हिमाल आरोहणमा असफल भएपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका थिए।
उनसंगै अलपत्र परेका ६५ वर्षीय इटालीयन नागरिक भेल्टर परलिनो गत आइतबार हेलिकोप्टरमार्फत उद्धार भएका थिए। उनीसँगै नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङ पनि उद्धार गरी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।
		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
