काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेको थियो भने मंगलबार २७.६४ अंकले घटेर २५९५.२४ विन्दुमा पुगेको छ।
सेयर मूल्य घटेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ रहेको छ। २१३ स्टकको मूल्य घट्दा ३३ स्टकको मात्र मूल्य बढ्यो भने ३ स्टकको मूल्य स्थिर रह्यो।
आजको कारोबारमा माबिलुङ इनर्जी लिमिटेडको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर ९.२० प्रतिशत र विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर ६.३८ प्रतिशतले बढेको छ।
उता, मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले घट्दै आजका दिन सबैभन्दा बढी घाटा दिएको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर कारोबार २७ करोड रुपैयाँ बराबर भएको छ। त्यस्तै, राधी विद्युतले २२ करोड, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम सिमेन्टले करिब १८-१८ करोड रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ।
		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
