काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनमा ओम अस्पतालको क्यान्टिनमा सरसफाइ र खाद्य स्वच्छतामा चरम लापरवाही पाइएको छ। अनियमितता भेटिएपछि क्यान्टिनलाई सात दिनका लागि बन्द गरिएको छ।
चावहिलस्थित ओम अस्पतालमा हेल्दी बाइट्स सर्भिसेज्द्वारा सञ्चालित क्यान्टिनमा म्याद गुज्रिएका वस्तु, लेबल विहीन खाद्य सामग्री, अस्वच्छ वातावरण, र पेष्ट कन्ट्रोलको अभाव पाइएको थियो। साथै, क्यान्टिन दर्ता नभएको पाइएकोले सञ्चालकलाई स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध तत्काल नष्ट गरिएको थियो। अस्पताल प्रशासनले नयाँ सञ्चालकमार्फत सरसफाइ सुधार गरी स्वच्छता मापदण्ड पूरा भएपछि मात्रै पुनः सञ्चालन गर्ने तयारी गरेको छ।
अनुगमन टोलीले सोही क्रममा मेडिकेयर अस्पतालको ‘द केयर क्यान्टिन’ र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिन पनि निरीक्षण गरेको थियो। ती दुवै क्यान्टिनमा सरसफाइ अवस्था तुलनात्मक रूपमा राम्रो भए पनि पेष्ट कन्ट्रोलको व्यवस्था अपूरो रहेको पाइएको छ।
मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य सामग्री, खुला डस्टबिन र पिउने पानीमा सुधार आवश्यक देखिएको टोलीले जनाएको छ। हेल्पिङ ह्याण्ड्स अस्पतालमा व्यक्तिगत सरसफाइ सन्तोषजनक भए पनि खाद्य रंगको प्रयोग, प्रमाणित वस्तुको प्रयोग र आगो नियन्त्रण उपकरण बलियो बनाउन सुझाव दिइएको छ।
महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीका अस्पताल, होटल, रेष्टुरेन्ट र क्यान्टिनहरूमा नियमित अनुगमन गर्दै खाद्य सुरक्षा र स्वच्छता मापदण्ड पालनामा कडाइ गर्ने जनाएको छ।
		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
