लमजुङ । क्व्होलासोथार गाउँपालिका–१ बागलुङपानीमा बोलेरो जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। घलेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरोले शुक्रबार बिहान करिब ९ बजे सोही स्थानकी २ वर्षीया नेरिमा तामाङलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई आमाको साथमा तुरुन्तै उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो। तर, उपचारको क्रममा बिहान १०:३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए।
दुर्घटनापछि जिप चालक बेसीशहर नगरपालिका–९ बिम्दाबेसीका २९ वर्षीय मदन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ।

