काठमाडौं । सोमबार शेयर बजार ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.८० अंकले घटेर २,५६० बिन्दुमा कायम भएको छ।
कारोबारको सुरुवाती चरणमा बजार उकालो लागेको थियो। नेप्से सूचक ११:३७ बजे २,५७६ बिन्दुसम्म पुगेपछि ओरालो लाग्दै २:३१ बजे २,५४४ बिन्दुसम्म झरेको थियो। साढे १ बजेपछि बजार केही सम्हालिएको नेप्सेले जनाएको छ। अघिल्लो दिन नेप्से ३० अंकले घटेको थियो।
आज ९१ कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत हिसाबले हेर्दा होटल तथा पर्यटन समूहको सूचक १.६४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै व्यापार समूह ०.५५ प्रतिशत र लगानी समूह ०.१० प्रतिशतले बढेका छन्। यीबाहेकका सबै समूहका सूचक घटेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ।

