काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा छुट्याएको कार्यक्रमअनुसार, सुदूरपश्चिमका नौ वटै जिल्लामा प्रोत्साहन भत्ता दिने भएको हो। यसका लागि ९७ लाख ५० हजार रुपैयाँ विनियोजन भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले बताए।
उनले प्रदेशभरी हलगोरु पालन गर्ने एक हजार ९५० किसानलाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गरिने बताए। हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी भएको झाको भनाइ छ।
यो कार्यक्रम नौ वटै जिल्लामा रहेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हुने तथा बजेट सबै विज्ञ केन्द्रमा गइसकेको उनले जानकारी दिए। यसका लागि कैलालीमा १५ लाख, कञ्चनपुरमा १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। त्यस्तै, बाँकी सात जिल्ला बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र बझाङमा प्रतिजिल्ला १० लाख रुपैयाँका दरले विनियोजन भएको छ।

