काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पनि विजेता टोलीका लागि तोकिएको पुरस्कार राशि परिवर्तन नगरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले यस वर्ष पुरस्कार रकम पहिलेको जस्तै रहने स्पष्ट पारे।
गत वर्ष सम्पन्न पहिलो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ प्रदान गरिएको थियो भने उपविजेताले ५१ लाख पाएका थिए। त्यस्तै तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
सचिव खड्काका अनुसार खेलाडीहरूको व्यक्तिगत पुरस्कार राशिको बारेमा भने पछि जानकारी गराइनेछ। क्यानले तयारी पूरा रहेको र पुरस्कार संरचना स्थिर राख्नुले प्रतियोगिताको विश्वसनीयता तथा निरन्तरतामा सहयोग पुग्ने बताएको छ।

