लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–८ शेरा दुलालटोलमा शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति उदयपुर कटारी नगरपालिका–७ मरुवाखोला घर भई हाल बेसीशहर–८ मा बस्दै आएका २८ वर्षीय ‘भाते’ उपनामले चिनिने विनेश परियार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले गरेको शारीरिक तथा झोला तलासीका क्रममा उनले बोकेको फाइबर झोलाभित्र डायजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १४ एम्पुल, फेनरगन १२ एम्पुल गरी जम्मा ४१ एम्पुल लागूऔषध फेला परेको छ। त्यस्तै झोलामै नगद रु. २,९३०, भिभो मोबाइल सेट, मोबाइल चार्जर, १० एमएलको प्रयोग भइसकेको सिरिन्ज र साना कैची समेत बरामद गरिएको प्रहरीले बताएको छ।
घटनासम्बन्धी अनुसन्धानलाई अघि बढाउनका लागि अदालतबाट पहिलोपटक ५ दिन र दोश्रो पटक १० दिन म्याद थप गरी प्रक्रिया जारी राखिएको प्रहरीले जनाएको छ। सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

