काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार दीपेन्द्र खनियाको निधनप्रति दुःख व्यक्त गरेको छ । खनियालाई मंसिर ७ गते आइतबार काठमाडौंको बानेश्वरस्थित निवासमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
महासचिव रामप्रसाद दाहालले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘रेडियो पत्रकारितामा लामो समय सक्रिय रहेका खनिया ‘रेडियो अडियो’ का संस्थापक तथा कम्युनिकेशन कर्नर, रेडियो सगरमाथाजस्ता सञ्चारमाध्यममा पनि आवद्ध थिए । दुई दशकभन्दा बढी समय रेडियो पत्रकारितामा समर्पित खनियालाई एक जुझारु र दक्ष पत्रकारका रूपमा सम्झना गरिन्छ ।’
उनको असामयिक निधनले नेपाली पत्रकारिता क्षेत्रलाई ठूलो क्षति पुगेको महासंघले जनाएको छ । महासंघले खनियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

