काठमाडौं । लमजुङमा सार्वजनिक सवारी साधनले भाडादर नटाँस्ने र तोकिएभन्दा बढी भाडा उठाउने गरेको जनगुनासो बढेपछि प्रहरीले विशेष चेकजाँच सञ्चालन गरेको छ। मंगलबार बिहान बेंसीशहर नगरपालिका–३ रानीकुवा क्षेत्रमा गरिएको संयुक्त चेकजाँचमा भाडा सूची टाँस नगरी सञ्चालन गरेको १२ वटा सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ।
यातायात व्यवसायीहरूसँगको समन्वयमा गरिएको सो चेकजाँचमा व्यवसायी संघका पदाधिकारीहरू समेत सहभागी थिए। चेकजाँचका क्रममा जम्मा ४५ वटा सवारी साधन जाँच गरिएको ट्राफिक कार्यालयले जनाएको छ।
प्रहरीले सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित तथा यात्रुमैत्री बनाउन चेकिङ गतिविधि आगामी दिनमा पनि निरन्तर रूपमा चलाइने जनाएको छ। साथै बढी भाडा असुल गर्ने, भाडा सूची न टाँस्ने, आरक्षण सिट नमान्ने, चालक/सहचालकको बदमासीपूर्ण व्यवहार, मापसे वा लागुऔषध सेवन गरी गाडी चलाउने लगायतका गतिविधि देखिएमा १०० वा ट्राफिक प्रहरी १०३ मा खबर गर्न नागरिकलाई आग्रह गरिएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा आवश्यक निर्देशन, सचेतना र कारबाही प्रक्रिया एकैसाथ अघि बढाइएका थिए।

