काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यावारिधि (पीएचडी)को शैक्षिक योग्यता देखाएर नियुक्ति लिएका चारजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
आयोगले त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा, प्रा.डा.मेघराज पोख्रेल र तत्कालीन सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईविरुद्ध गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहोदा पाएको भनी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार आयोगले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका प्राध्यापकत्रय प्रधान, शर्मा र पोख्रेल र झुटो विद्यावारिधिको दावी पेश गर्ने सहप्राध्यापक प्रसाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
प्रतिस्पर्धीमध्ये प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडि डा. लेखेको तथा पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए । विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको अभिलेखबाट देखिए पनि उपाधी नपाउँदै पीएचडी गरेको भनी उनले कागजात तयार पारे । विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउँथे । यसरी गलत विवरण पेस गरेको अभियोग उनीमाथि छ ।

