काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले बिहीबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको छ।
लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा १४३ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३५, दिलीप नाथले ३१, डि आर्ची शर्ट र सुमित महर्जनले १८–१८ रन बनाए।
जवाफी ब्याटिङमा सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर १४४ रन पूरा गर्यो। प्रमुख योगदानकर्ता विनोद भण्डारीले ६९ रन बनाए भने आरिफ शेखले ३९ रन जोडे।
सुदूरपश्चिमका बलरहरूमा अविनाश बोहरा र हरमित सिंहले ३–३ विकेट, हेमन्त धामीले २ र स्कट कुगेलाइनले १ विकेट लिएका थिए। लुम्बिनीका बलरमध्ये रुबेन ट्रम्पेलम्यान, अभिषेक गौतम र तिलक भण्डारीले १–१ विकेट लिएका थिए।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित दर्ता गर्दै चार खेलमा ८ अंक बनाउँदै शीर्ष स्थानमा कायम रह्यो। लुम्बिनीले भने चार खेलमा एक जित र तीन हार बेहोरेको छ र २ अंकमै सिमित छ।

