काठमाडौं । नेपालकै ठूलो मानिने बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका सक्रिय बनेको छ। प्रचुर पर्यटन सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको यस गुफालाई प्रभावकारी रूपमा प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले अघि बढाएको हो।
गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाका अनुसार सिद्धगुफा पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामा पुग्न सकिने स्थान भएकाले यसको प्रभावकारी प्रचार भएमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ। उहाँले भने, “जति प्रचार–प्रसार हुन्छ, त्यति नै यहाँ आउने पर्यटकको चहलपहल बढ्छ। यसले बन्दीपुरको पर्यटनलाई उचाल्छ र स्थानीयको आयआर्जनमा पनि टेवा पुग्छ।”
थापाले सिद्धगुफाको राष्ट्रियस्तरमा प्रचार–प्रसार आवश्यक रहेको उल्लेख गर्दै यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको जानकारी दिए। गुफा परिसरमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण तथा सौन्दर्यकरणका काम अघि बढाइने उनले बताए।
धार्मिक दृष्टिले पनि गुफा महत्वपूर्ण रहेको बताउँदै उनले यहाँ बोलबम मेला लाग्ने र सिद्धबाबाको दर्शनका लागि भक्तजन आउने गरेको उल्लेख गरे। “देशका अवश्यै पुग्नैपर्ने धार्मिक–पर्यटन स्थलमध्ये सिद्धगुफालाई स्थापित गर्न गाउँपालिका जुटेको छ,” थापाले भने।
सिद्धगुफा विकास समितिले व्यवस्थापन गर्दै आए पनि हाल निष्क्रिय भएको भन्दै समितिलाई अधिवेशन गर्न निर्देशन दिइएको छ। आवश्यक परे गाउँपालिकाले नै प्रत्यक्ष व्यवस्थापन गर्ने योजना रहेको थापाले बताए।
गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारदेखि गुफासम्म झर्ने बाटोमा रेलिङ तथा ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ। नवप्रवर्तन साझेदारी कोषअन्तर्गत रु १ करोड ३ लाख ९५ हजार ३०० लागतमा सौन्दर्यकरणका काम सम्पन्न भएको छ।
गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आर्थिक वर्षमा सिद्धगुफाको लागि रु १० लाख बजेट राखिएको जानकारी दिइन्। स्थानीय बासिन्दा भीम घलेले गुफाको प्रचारप्रसारमा कमी रहेको स्वीकार गर्दै स्थानीय र गाउँपालिका दुवैले पहल बढाउनुपर्ने बताए।
सिद्धगुफा भ्रमणमा आएका प्रेमप्रसाद पौडेलले गुफा अत्यन्तै आकर्षक रहेको उल्लेख गर्दै “पृथ्वीराजमार्गबाट नजिकै भएकाले उत्कृष्ट गन्तव्य बन्नसक्ने” अभिमत राखे।
प्रचारप्रसारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबारको कार्यसमिति बैठक गुफाभित्रै सम्पन्न गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सिद्धगुफा स्थानीय चन्द्रबहादुर थापामगरलगायत पाँच जनाले वि.सं. २०४४ चैत १३ गते पहिलोपटक पत्ता लगाएका थिए। पुरातत्वविद्हरूका अनुसार प्राकृतिक संरचना र प्रागैतिहासिक मानवद्वारा सुरक्षित आवासका रूपमा प्रयोग भएको अनुमान गरिने यो गुफा झण्डै ३५ सय वर्ष पुरानो मानिन्छ।
करीब ४५० मिटर लामो गुफाभित्र प्राकृतिक रूपमा बनेका चुनढुङ्गाका विविध आकृतिहरू (देवता, चराचुरुङ्गी, जनावर आदिको आकृति) भेटिन्छन्। गुफाको केही भागमा पानी भए पनि घाम नपुग्ने भएकाले लेउ नलाग्ने र चिप्लो नहुने विशेषता छ।

