काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार ४ अंकमाथिको गिरावट आएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक भएकै दिन नेप्से सूचक ४.२८ अंकले घट्दै २ हजार ६४५.२४ विन्दुमा झरेको हो । तथापि, अघिल्लो दिन आइतबार पनि नेप्से सूचक २६ अंकमाथिले घटेको थियो ।
मौद्रिक नीतिको समीक्षाले बैंकको लगानी सहज गर्नेदेखि जेन–जी आन्दोलनका कारण प्रभावित निजी व्यवसायिक क्षेत्रलाई राहत दिने बताइए पनि यसपटक शेयरबजारका विषयमा भने मौद्रिक नीतिले केही बोलेको छैन । शेयर धितोकर्जाको सन्दर्भमा यसअघिनै एकल ग्राहक कर्जाको सीमा खारेज गरिसकिएको मौद्रिक नीतिको समीक्षामा बताइएको छ । यसै पनि बजारमा खास उत्साह नदेखिएको हो ।
४ अंकमाथिले घटेको बजारमा आज ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो २६ अंकमाथिले नेप्से घट्दा पनि ७ अर्बमाथिको कारोबार भएको थियो ।
आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।

