काठमाडौं । सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् ।
मनाङस्थितत नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो । आयोजनाको प्रवर्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता पिपिए भइसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी आर्थिक व्यवस्थापन टुंगिएर सोमबार हस्ताक्षर भएको हो ।
नारखोला जलविद्युत् आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडबक्सका संरचनाहरू नार्पा भूमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत् गृहमा नार्पा भूमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्गमार्फत पेनस्टक पाइपको प्रयोग गरी विद्युत् गृहमा पानी पठाएर बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेशनमा जोडिने छ ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेको जसमा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुँजी ३ अर्ब २१ करोड रहेको छ जसमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । आयोजनाले ३ वर्षभित्र विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।

