काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का साविक विजेता जनकपुर बोल्ट्सले अन्ततः जारी सिजनमा पहिलो जित दर्ता गरेको छ। मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले पाँचौँ खेलमा आएर जितको खाता खोल्न सफल भयो।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनायो। यस क्रममा माज सदाकत र अनिश शाहले अर्धशतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाएका थिए।
यो जितले लिग चरणबाट बाहिरिने संघारमा पुगेको जनकपुरलाई केही राहत दिएको छ। तर, बाँकी दुई खेल जिते पनि प्लेअफमा पुग्न जनकपुरका लागि सहज छैन। शीर्ष चारमा प्रवेश गर्न चितवन र लुम्बिनी लायन्सले बाँकी सबै खेल हार्नु पर्ने स्थिति छ।
उता पाँचमध्ये तीन खेलमा पराजय भोगेको चितवनको प्लेअफ यात्रा पनि चुनौतीपूर्ण बनेको छ। अब उसलाई बाँकी रहेका दुवै खेलमा जित निकाल्नु पर्ने दबाब बढेको छ।

