लमजुङ। लमजुङ बेसीशहर नगरपालिका वडा नं. २ भकुण्डेमा बसोबास गर्ने पूर्व प्रहरी हवल्दार सिता कँडेलको हत्या प्रकरणमा फरार प्रतिवादी बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८१।१२।३१ गते दिउँसो करिब ३:३० बजे स्थानीय बासिन्दाले सिता कँडेलको घरमा दुर्गन्ध फैलिएको सूचना प्रहरीलाई दिएका थिए। प्रहरी र अनुसन्धान टोलीले घटनास्थलमा प्रवेश गर्दा मृतकको शव आफ्नै कोठाको बक्स पलङमुनी त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो।
साना अनुसन्धानबाट बुझिएको छ कि बुद्धिराम दराई यस घटनासँग संलग्न रहेको पाइएको हो। उनी विगतमा पनि हत्या प्रकरणमा सजाय भुक्तान गरिरहेका थिए। मिति २०६७।८।१३ मा गोरखाको फिनाम गा.वि.स. वडा नं. ५ बस्ने चिनी माया पाण्डेलाई निर्ममता पूर्वक हत्या गरेकोमा उनलाई गोरखा जिल्ला अदालतले २०६८।०३।२० गते जन्मकैदको फैसला सुनाएको थियो।
बुद्धिराम दराईलाई जिल्ला अदालत लमजुङले मिति २०८२।०१।१५ गते पक्राउ पुर्जी जारी गरेको थियो। यसपछि अनुसन्धान टोलीले जिल्ला रूपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियास्थित सडकखण्डबाट मिति २०८२।०८।१८ मा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ बुझाएको छ। प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरोले घटनाको पूर्ण विवरण उजागर गर्न थप अनुसन्धान जारी राख्ने जनाएको छ।

