काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित ६ जना र एक कन्सल्टिङ प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको छ।
आयोगले अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी, उप प्रबन्धक नल विक्रम थापा, वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक सम्वृद्धि श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो। परापर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको थियो।
अधिकारीमाथि नलिञ्चोक हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोप लगाइएको छ। भ्रष्टाचार मुद्दामा मुछिएपछि उनी प्राधिकरणको महानिर्देशकबाट निलम्बनमा परेका छन्।

