काठमाडौं । भन्सार एजेन्ट महासंघले आफ्ना प्रमुख मागहरू सम्बोधन हुने सहमति बनेपछि जारी पेनडाउन आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ।
मंसिर २३ गते भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबीचको छलफल सकारात्मक बनेपछि देशभरका भन्सार कार्यालयमा सञ्चालनमा रहेका विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष प्राचीन कुमार थैबका अनुसार विभागले महासंघका मागहरू सम्बोधन गर्ने स्पष्ट सहमति जनाएपछि आन्दोलन रोकिने निर्णय भएको हो। उनले आन्दोलनमा साथ दिने उद्योग–व्यवसायी तथा सबै भन्सार एजेन्ट संघ–संस्थाप्रति आभार प्रकट गरे।
मंसिर २३ देखि सुरु भएको पेनडाउनका कारण भन्सार प्रक्रियामा अवरोध भएको थियो। छलफल सफल भएसँगै भन्सार कार्यालयहरूमा नियमित कार्य पुनः सुचारु भएको महासंघले जनाएको छ।

