काठमाडौं । उत्कृष्ट बलिङ र संयमित ब्याटिङको प्रदर्शन गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटरमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै विराटनगर किंग्ससँग दोस्रो क्वालिफायर खेल्ने अधिकार पक्का गरेको हो।
काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्दै १११ रनको सामान्य लक्ष्य दिएको थियो। तर लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लुम्बिनीका ओपनर डार्सी सटले ३३ रन बनाए भने रोहित पौडेलले १८ रन, सन्दीप जोरा २३ रन र विकेटकिपर निरोशान डिकवेलाले १४ रन बनाए।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए पनि टिमको इनिङ्स सम्हाल्न सकेनन्। काठमाडौंले १९.१ ओभरमा १११ रनमा अलआउट भयो। ओपनरद्वय बेन चार्ल्सवर्थ र आकाश त्रिपाठी मात्र ४ र १ रनमा आउट भए। अन्य शीर्ष ब्याटरहरू पनि दोहोरो अंकमा रन जुटाउन असफल भए।
लुम्बिनीका शेर मल्ल र कप्तान रोहितले समान तीन–तीन विकेट लिए भने ट्रम्पलमेनले दुई र अभिशेष गौतमले एक विकेट लिए। चार ओभर बलिङ गरेका शेरले मात्र २२ रन दिए भने रोहितले २५ रन खर्च भए।
यस जितसँगै पहिलोपल्ट प्लेअफ पुगेको काठमाडौं इलिमिनेटरबाटै बाहिरिन बाध्य भयो। लुम्बिनीले अब बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

