काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको खेल मैदान निर्माणका क्रममा आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी रहेका छन्। त्यस्तै, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध पनि मुद्दा चलाइएको छ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा कमसल सामग्री प्रयोग गरिएको र डीपीआर विनै निर्माण कार्य गरी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले आपसी मिलेमतोमा झुट्टा नापी किताब र बिल भरपाई तयार पारी गाउँपालिकालाई १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको गैरकानुनी हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ।
अख्तियारले सबै आरोपीलाई जनही १४ लाख ६६ हजार ५०३ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ।

