काठमाडौं । नेपाल पत्रकार महासंघले भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गतेको विध्वंसका क्रममा मुलुकभर सञ्चार क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ। महासंघका अनुसार देशको सञ्चार क्षेत्रमा कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
महासंघले संकलन गरेको विवरणअनुसार १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको छ। साथै, मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीमा पूर्ण रूपमा नष्ट भएको र यसबाट १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको छ।
घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्राले घाइते भएका छन्। केही पत्रकारले उपचारका क्रममा रोजगारी गुमाउनुपरेको महासंघले जनाएको छ। साथै, कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्यका अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ।
महासंघले सरकारसँग क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधनको पुनः खरिद, सञ्चार माध्यमहरूको क्षतिपूर्ति, र ध्वस्त भएका पत्रकार तथा सञ्चारकर्मीको लागि विशेष राहत प्याकेज ल्याउन माग गरेको छ।
आजै महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले क्षतिको विस्तृत विवरणसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र मन्त्रालयकी सचिव राधिका अर्याल समक्ष निवेदन बुझाएका थिए। मन्त्री खरेलले सरकारले क्षति पुगेका सञ्चार संस्थाहरू र निजी सवारी जलेका पत्रकारलाई राहत दिने विषयमा सकारात्मक रहेको जानकारी दिएका छन्।

