काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने क्रममा उठेका प्रश्नको अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले औपचारिक छानविन सुरु गरेको छ। बोर्डको पुस ४ गतेको बैठकले यस सम्बन्धमा निष्पक्ष छानविनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।
बोर्डले बिनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्यको रूपमा रहेका छन्। समितिलाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र बोर्ड समक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। आवश्यक परेमा समिति बाह्य विज्ञ वा अन्य सम्बन्धित व्यक्तिलाई आमन्त्रित गर्ने अधिकारसमेत राखिएको छ।
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रियामा वित्तीय विवरण पारदर्शी नभएको आरोप लामो समयदेखि उठ्दै आएको छ। नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने करिब ७५ करोड ३६ लाख रुपैयाँको ‘डेडिकेटेड’ लाइन बक्यौताको विवरणमा समावेश नभएको र यसको कारण विवाद उत्पन्न भएको थियो।
सेबोनले बुक बिल्डिङ मूल्य निर्धारण र प्रक्रियामा अपनाइएका विधिहरूको वैधता, अर्थ मन्त्रालय र सार्वजनिक लेखा समितिको निर्देशन पालनाको विषयलाई ध्यानमा राख्दै छानविन समिति गठन गरेको जनाएको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको थियो, तर सर्वसाधारणतर्फको आईपीओ निष्कासन विवादका कारण स्थगित गरिएको थियो। हाल कम्पनीले प्राधिकरणको बक्यौता किस्ताबन्दी तिर्न थालेको भए तापनि प्रक्रियागत त्रुटीमाथि छानविन गर्न अर्थ मन्त्रालयले बोर्डलाई पत्राचार गरेको थियो।

