काठमाडौं । लमजुङ दोर्दी गाउँपालिकाले खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक गतिविधिलाई एकै थलोमा प्रस्तुत गर्दै पहिलो दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्न लागेको छ। गाउँपालिकाले पुस ८, ९ र १० गते नौथर शेरास्थित खेलमैदानमा महोत्सव आयोजना गर्ने जानकारी दिएको छ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक व्यापार विस्तार र लोककला–संस्कृतिको संरक्षण रहेको बताए। उनका अनुसार महोत्सवले दोर्दी गाउँपालिकाको समग्र पहिचान निर्माणमा सहयोग पुग्नेछ। कार्यक्रममा गाउँगाउँमा रहेका होमस्टे र पदमार्गहरुको प्रचारप्रसार पनि गरिनेछ।
महोत्सवमा गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता, कृषि मेला तथा प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान, सांस्कृतिक झाँकी र लोकनृत्य, आमा समूहको खुला नृत्य प्रतियोगिता, विद्यालय तथा शिक्षक सम्मान लगायत कार्यक्रम राखिएको छ। यसका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति हुने आयोजकले जानकारी दिएका छन्।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार कृषि मेला र प्रदर्शनीमार्फत स्थानीय कृषि उपज, नगदे बाली, पशुपालन, मौरीपालन, तरकारी, फलफूल, कृषियन्त्र र प्रविधि प्रदर्शन गरिनेछ।
महोत्सवमा उत्कृष्ट कृषकलाई सम्मान गरी व्यावसायिक कृषितर्फ प्रोत्साहन गरिने योजना रहेको उनले बताए। सांस्कृतिक झाँकी, लोकनृत्य र आमा समूहको नृत्यले लोपोन्मुख संस्कृतिको संरक्षण गर्दै सामुदायिक एकता मजबुत बनाउने अपेक्षा गरिएको छ।
गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले महोत्सवले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, महिला समूहको सक्रियता बढाउने र स्थानीय रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले भने, “स्थानीय प्रतिभा पहिचान गरी जिल्लादेखि राष्ट्रिय स्तरसम्म दोर्दीलाई चिनाउने अवसर महोत्सवले दिनेछ।”
आयोजकका अनुसार महोत्सवको लागि करिब १७ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ।

