काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ। घरेलु मैदानमा आयोजना हुने छनोट प्रतियोगितामा नेपालले माघ ४ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले दोस्रो खेल जनवरी २२ (माघ ८) मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसैगरी जनवरी २४ (माघ १०) मा जिम्बावेसँग तथा जनवरी २६ (माघ १२) मा स्कटल्यान्डविरुद्ध खेल्दै समूह चरण पूरा गर्नेछ।
ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपाल रहेको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन्।
ग्लोबल छनोटअघि नेपालले अभ्यास खेलहरू पनि खेल्नेछ। अभ्यास खेलअन्तर्गत नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ भने जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ।
इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ। छनोटका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछन्।



