काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर–३ चिसापानीबाट तीनपिप्ले जाने सडक खण्डमा इट्टा बोकेको बा २ ख ५९७७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको छ।
दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको जानकारी प्राप्त भएको छ।
प्रत्यक्षदर्शीका अनुसार इट्टा बोकेर गइरहेको मिनी ट्रक अचानक अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको हो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।
दुर्घटनापछि केही समय सो सडक खण्डमा सवारी आवागमन प्रभावित भएको थियो। स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोगमा सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ।

