काठमाडौं । सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनामा पीडित परिवार प्रशासनबिच सहमति भएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरेर घटनाबारे छानबिन गर्ने सहमति भएको सशस्त्रको नम्बर–१ बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले बताए ।
समितिमा नेपाल प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य हुनेछन् । ७ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नेबारे बिहीबार दुवै पक्षबिच सहमति भएको छ ।
गएराति १ बजेर १० मिनेटमा भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका सफारी चालकमाथि सशस्त्रले गोली प्रहार गर्दा साहको मृत्यु भएको थियो । दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्तिको लागी सिफारिस गर्ने र मृतककी पत्नीलाई रोजगारीको लागी सिफारिस गर्ने सहमति भएको छ ।

