काठमाडौं । बुढीगंगा नगरपालिकाका पूर्वमेयर दीपकविक्रम शाह सहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले सार्वजनिक सम्पत्ति हानि पुर्याई ठेक्का सम्झौतामा मिलेमतो गरेको आरोपमा आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि ३ करोड बजेट विनियोजन गर्दै १२ करोड २४ लाख रुपैयाँमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको थियो। बोलपत्र मूल्यांकन समितिको सिफारिसमा कैलाली–धनगढीको जाग्रिति/एमके/नेपाल जेभीलाई ९ करोड ९४ लाख ५१ हजार रुपैयाँमा ठेक्का दिइएको थियो।
तर अख्तियारको अनुसन्धान अनुसार ठेक्का सम्झौतामा मिलेमतो गरिएको र न्यूनतम कबोल गर्ने कम्पनीको प्रस्तावभन्दा ३ करोड २७ लाख ७८ हजार रुपैयाँ हिनामिना भएको छ।
अख्तियारले तत्कालीन नगर प्रमुख शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्रनाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सह–इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सह–इन्जिनियर भीमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक बसन्तबहादुर थापा, ना.प्रा.स. सिद्धराज जैसी र जाग्रिति/एमके/नेपाल जेभीको मिलेमतो रहेको जनाएको छ।
अख्तियारले ३ करोड २७ लाख ७८ हजार १७० रुपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरेको छ।

