लमजुङ । एपी पावर चर्ज बोइज (चर्च बोइज युनाइटेड) काठमाडौँलाई पराजित गर्दै लाङ्दीदेवी युवा क्लब नाल्मा ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेल मैदान त्रिवेणी रंगशालामा आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई २–० ले पराजित गर्दै लाङ्दीदेवी नाल्माले फाइनल यात्रा तय गरेको हो।
खेलको ३६ औँ मिनेटमा रोहन कार्कीले गोल गर्दै लाङ्दीदेवीलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिष गुरुङले गोल गर्दै टिमको जित सुनिश्चित गरे।
यो जितसँगै लाङ्दीदेवीले उपाधिका लागि साबिक विजेता एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफ क्लबले पहिलो सेमिफाइनल खेलमा लमजुङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
उक्त खेलमा लाङ्दीदेवी नाल्माका कप्तान आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।
आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजंग गुरुङका अनुसार फाइनल खेल सोमबार दिउँसो १ बजे साबिक विजेता एपीएफ क्लब र लाङ्दीदेवी नाल्माबीच हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ।
यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्षदेखि हटाइएको छ।

